काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएका छन्। आयोगले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो।
आयोगका अनुसार विभिन्न राजनीतिक दल र उम्मेदवारविरुद्ध परेका उजुरीका आधारमा कुल ३४ जनासँग स्पष्टीकरण मागिएको थियो। तीमध्ये २४ जनाबाट जवाफ प्राप्त भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। बाँकी उम्मेदवारको जवाफ र तथ्यका आधारमा आयोगले थप निर्णय लिने तयारी गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ अघि बढाइएको आयोगले जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार

