काठमाण्डौँ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका समीर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । एक बक्तब्य जारी गर्दै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको म, समीर ओली, ले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।
ठूला भनिएका राजनीतिक दल तथा नेताहरूले चुनावअघि गरेका प्रतिबद्धता र चुनावपछि देखिएको कार्यशैलीबीचको ठूलो अन्तरले म लामो समयदेखि निराश र असन्तुष्ट थिएँ। यही कारणले सुशासन, पारदर्शिता, जवाफदेहिता र वास्तविक परिवर्तनको उद्देश्यसहित म स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेको थिएँ। मेरो यो अभियानले जनतामाझ सकारात्मक सन्देश र आशा जगाएको महसुस गरेको छु।
तर, परिवर्तनको समान उद्देश्य बोकेर एउटै क्षेत्रमा धेरै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहँदा परिवर्तन चाहने मत विभाजित हुने र पुरानै सोच बोकेका शक्तिहरू पुनः सत्तामा फर्किने जोखिम देखिएको छ। यही यथार्थलाई गम्भीरतापूर्वक मूल्यांकन गर्दै, परिवर्तनका लागि एकीकृत शक्ति निर्माण आवश्यक बनेको छ।
यस सन्दर्भमा, मेरो एजेण्डा र उद्देश्यसँग नजिक रहेको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट दाङ–२ का उम्मेदवार बिपिन कुमार आचार्य लाई समर्थन गर्ने निर्णय गर्दै मैले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएको घोषणा गर्दछु।
यो निर्णयले परिवर्तन पक्षधर शक्तिहरूबीच एकता मजबुत हुने, मत विभाजन रोकिने र वैकल्पिक राजनीति सुदृढ बन्ने विश्वास लिएको छु। मेरा सम्पूर्ण समर्थक, शुभेच्छुक तथा परिवर्तन चाहने मतदातालाई आगामी निर्वाचनमा वैकल्पिक शक्तिलाई सशक्त बनाउन एकजुट भई सहयोग गर्न हार्दिक अपिल गर्दछु।
समीर ओली
प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार
दाङ क्षेत्र नम्बर २


