२०८२ माघ ३० गते बिहिवार | 2026 February 12th Thursday

स्वास्थ्य बिमाबापत एक लाख रुपैयाँको उपचार सेवा यथावत्, २५ हजारमा घटाईएको समाचार भ्रामक

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५ सय बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए ।

बोर्डले २५ हजार रुपैयाँ ओपिडी सेवा र ७५ हजार रुपैयाँ अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ ।

 

प्रकाशित मिति : २०८२ माघ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस