
🖊️बुद्धि कृष्ण गौतम (क्याम्पस स्तरिय नेपाली शिक्षक )
नेपालको शिक्षा प्रणालीमा एसएलसी देखि एसईई सम्मको यात्रा केवल नाम परिवर्तन मात्र होइन, मूल्याङ्कन प्रणाली र प्रतिस्पर्धाको स्वरूपमा ठुलो परिवर्तनको कथा पनि हो। एसएलसीको समयमा ‘बोर्ड फस्ट’ बन्नु ठ्लो प्रतिष्ठाको विषय हुन्थ्यो, जहाँ प्रतिशत र डिभिजनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्थ्यो। त्यसबेला सीमित विद्यार्थी मात्र उत्कृष्ट ठहरिन्थे र समाजमा उनीहरूको विशेष सम्मान हुन्थ्यो।
नेपालमा एस.एल.सी. को इतिहास
सुरुवात (वि.सं. १९९०)
नेपालमा एस.एल.सी. परीक्षाको विधिवत सुरुवात वि.सं. १९९० कार्तिक १६ गते बाट भएको हो। त्यतिबेला ‘नेपाल एस.एल.सी. बोर्ड’ को स्थापना गरिएको थियो। पहिलो परीक्षामा देशभरबाट कुल ३४ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १ जना मात्र छात्रा (सविना देवी) थिइन्। त्यस समयमा परीक्षा केन्द्र काठमाडौँमा मात्र थियो।
भारतीय बोर्डसँगको सम्बन्ध
वि.सं. १९९० अघि नेपालका विद्यार्थीहरूले परीक्षा दिन भारतको पटना विश्वविद्यालय जानुपर्थ्यो। १९९० मा नेपालमा बोर्ड स्थापना भए पनि केही समयसम्म यसको सम्बन्धन र पाठ्यक्रममा भारतीय प्रभाव कायमै थियो। पछि बिस्तारै नेपालले आफ्नै पूर्ण स्वायत्त पाठ्यक्रम र परीक्षा प्रणाली विकास गर्यो।
परीक्षा प्रणालीमा परिवर्तनहरू
समयसँगै एस.एल.सी. को संरचनामा धेरै परिवर्तनहरू आए:
पूर्णाङ्क र विषय: सुरुवाती चरणमा विभिन्न विषयहरूको पूर्णाङ्क फरक हुन्थ्यो, पछि ८०० पूर्णाङ्कको मानक कायम गरियो। केही वर्ष देखि ७०० पूर्णाङ्कमा एस.इ.इ भइरहेको छ ।
श्रेणी विभाजन: लामो समयसम्म विद्यार्थीहरूलाई प्राप्ताङ्कका आधारमा विशिष्ट, प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन गर्ने गरिन्थ्यो।
ग्रेडिङ प्रणालीको आगमन (वि.सं. २०७२)
एस.एल.सी. को इतिहासमा सबैभन्दा ठुलो प्राविधिक परिवर्तन वि.सं. २०७२ बाट भयो।
सरकारले अङ्क प्रणाली (Percentage) लाई हटाएर अक्षर ग्रेडिङ प्रणाली (Letter Grading System) लाग गर्यो।यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई ‘अनुत्तीर्ण’ को मानसिक दबाबबाट मुक्त गराउनु थियो।
एस.एल.सी. बाट एस.इ.इ. (SEE) मा रूपान्तरण
वि.सं. २०७३ मा शिक्षा ऐनमा भएको आठौँ संशोधनपछि कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानियो। यससँगै कक्षा १० को अन्तिम परीक्षालाई एस.इ.इ. (Secondary Education Examination) नामकरण गरियो। यद्यपि, जनबोलीमा अझै पनि यसलाई ‘एस.एल.सी.’ नै भन्ने चलन छ।
एस.एल.सी. मा मूल्याङ्कन विधि
एसएलसि को तह निर्धारणमा ३२ प्रतिशदेखि ४४ प्रतिशतसम्म तृतिय श्रेणी (3rd division), ४५ देखि ५९ प्रति द्वितीय श्रेणी (2nd division) , ६० प्रतिशतदेखि ७९ प्रतिशतसम्म प्रथम श्रेणी (1st division) र ८० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीलाई विशिष्ट श्रेणी (distinction) का रूपमा मूल्याङ्कन गरिन्थ्यो भने ३२ प्रतिशतभन्दा कम अङ्क ल्याएमा फेल हुने प्रचलन थियो । दुई विषयसम्म फेल हुने विद्यार्थीका लाथि पूरक परीक्षाको व्यवस्था थियो ।
तर अहिले एसईईमा ग्रेडिङ प्रणाली (GPA) लागु भएसँगै ४ जिपिए प्राप्त गर्ने लक्ष्य व्यापक भएको छ। यसले प्रतिस्पर्धालाई झन् तीव्र बनाएको छ। अभिभावक र विद्यार्थी दुवै उच्च जिपिएलाई राम्रो कलेज, छात्रवृत्ति र उज्ज्वल भविष्यसँग जोडेर हेर्न थालेका छन्। फलस्वरूप, ‘कति जिपिए आयो ?’ भन्ने प्रश्न नै सफलताको मापन बनेको छ।
एस.इ.इ. मा मूल्याङ्कन विधि
ग्रेडिङ् प्रणालीमा ९० प्रतिशत माथि जिपिए ४ एप्लस, ८० देखि ९० प्रतिशत मुनि ३.६ जिपिए ए, ७० प्रतिशतदेखि ८० मुनि ३.२ जिपिए बि प्लस, ६० प्रतिशतदेखि ७० मुनि २.८ जिपिए बि प्लस, ५० प्रतिशतदेखि ६० मुनि २.४ जिपिए सि प्लस, ४० देखि ५० प्रतिशतमुनि २.० जिपिए सि, ३५ देखि ४० प्रतिशतमुनि १.६ डि, र ३५ प्रतिशतमुनि एन जी श्रेणीविहिन अर्थात फेल भनेर बुझिन्छ ।
यद्यपि, उच्च ग्रेड मात्र सफलता होइन। जीवनमा सफल हुन सिर्जनशीलता, व्यवहारिक सिप, आत्मविश्वास र नैतिकता पनि उत्तिकै आवश्यक हुन्छ। केवल अङ्कको पछि लाग्दा विद्यार्थीमा मानसिक दबाब बढ्ने र सिकाइको वास्तविक उद्देश्य ओझेलमा पर्ने खतरा रहन्छ।
परीक्षामा उच्च अङ्क ल्याउनका लागि केही प्रभावकारी तयारीका उपायहरू:
- नियमित अध्ययन र समय व्यवस्थापन गर्नु
- पुराना प्रश्नपत्र पटक पटक अभ्यास गर्नु
- बुझेर पढ्ने बानी बसाल्नु, घोक्ने मात्र होइन लेखेर पढ्ने
- स्वस्थ दिनचर्या (निद्रा, खानपान) कायम गर्नु
- तनाव व्यवस्थापन र आत्मविश्वास बढाउनु
अन्ततः, शिक्षा केवल जिपिएको खेल होइन, समग्र व्यक्तित्व विकासको यात्रा हो। त्यसैले अभिभावक र विद्यार्थीले अङ्कसँगै ज्ञान र सिपलाई समान महत्त्व दिनु आजको आवश्यकता हो।

