२०८३ जेष्ठ ७ गते बिहिवार | 2026 May 21st Thursday

तराई पार गर्दै पहाड चढ्दै पाठे बाघ, पाल्पामा देखिएपछि नयाँ चिन्ता

प्रकाश काफ्ले/काठमाडौं ।पछिल्लो अध्ययनले पाठे बाघ अब तराई क्षेत्रमै सीमित नरही क्रमशः मध्य पहाडतर्फ सर्दै गएको संकेत दिएको छ।पाल्पा जिल्लामा गरिएको एक अनुसन्धानका क्रममा करिब १,११० मिटर उचाइमा बाघको उपस्थितिको प्रमाण फेला परेको हो। तिनाउ र माथागढी गाउँपालिकाका वन क्षेत्रमा राखिएका क्यामेराले बाघको गतिविधि रेकर्ड गरेका छन्।

त्रिभुवन विश्वविद्यालय का प्राणीशास्त्रविद्को नेतृत्वमा गरिएको उक्त अध्ययनमा हालसम्म केही स्थानमा बाघ देखिएको पुष्टि भइसकेको छ भने कम्तीमा तीन फरक बाघको संकेत भेटिएको छ। अझै सबै क्यामेराको तथ्याङ्क अध्ययन बाँकी रहेकाले थप जानकारी आउने अपेक्षा गरिएको छ। विज्ञहरूका अनुसार बाघको संख्या बढ्दै जाँदा नयाँ क्षेत्र खोज्ने प्रवृत्तिका कारण यस्ता परिवर्तन देखिन थालेका हुन्। साथै, तराई र पहाडी जंगलबीचको निरन्तरता र वातावरणीय परिवर्तनले पनि बाघलाई माथिल्लो क्षेत्रमा पुग्न सहयोग गरिरहेको हुनसक्छ।

यसअघि पनि डडेलधुरा र इलाममा यस्तै उचाइमा बाघ भेटिएको अभिलेख रहेकाले अहिलेको अध्ययनले त्यो प्रवृत्तिलाई अझ स्पष्ट बनाएको छ।

स्थानीय स्तरमा कहिलेकाहीँ बाघ देखिएको चर्चा भए पनि वैज्ञानिक रूपमा पुष्टि हुनु महत्वपूर्ण मानिएको छ। अब भने यस्ता क्षेत्रमा जनचेतना, सतर्कता र संरक्षणका उपायहरू अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस