२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

शेरधन राईको प्रष्टोक्ति : मुख्यमन्त्री फेर्ने कुरा निजी चाहना होइन

विराटनगर – नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री फेर्ने विषय आफ्नो व्यक्तिगत चाहना नभई पार्टी अध्यक्षको निर्देशन अक्षरशः पालना गर्नुपर्ने जिम्मेवारी भएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत उनले कोशी प्रदेश सरकारबारे उठेका विवाद र आरोपलाई अफवाह भनेका छन्।

राईले साउन ९ गते एमाले र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन दुवै पार्टीको अनिवार्य कर्तव्य भएको उल्लेख गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफू, प्रदेश कमिटी र मुख्यमन्त्रीलाई स्पष्ट निर्देशन दिएको बताए। सहमति कार्यान्वयनमा केही प्राविधिक गाँठो परेको स्वीकार गर्दै उनले मुख्यमन्त्रीले अध्यक्षसँग भेट गरी समस्या समाधान गर्ने जिम्मा लिएको बताए।

मुख्यमन्त्री फेर्ने कुरा आफ्नो निजी चाहना वा हस्ताक्षर अभियान भएको भन्ने चर्चालाई उनले “वाहियात हल्ला र सफेद झूट” भनेका छन्। पार्टीको नीति, विधि र पद्धतिको उल्लंघन नगर्ने र व्यक्तिगत स्वार्थमा रमाउन नचाहने स्पष्ट पारे।

राईले आफू कोशी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा पार्टी नेतृत्वको निर्देशन पाउनेबित्तिकै पद हस्तान्तरण गरेको स्मरण गर्दै इमान र निष्ठाको राजनीतिमा विश्वास गर्ने बताए

 

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस