काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को शान्ति तथा मैत्री सन्धिको औपचारिक सक्कल प्रति नेपालसँग छ कि छैन भन्नेबारे सरकारलाई स्पष्ट जानकारी नभएको बताएका छन्। प्रतिनिधिसभामा कांग्रेस सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै उनले केही कागजात राष्ट्रिय अभिलेखालयमा भए पनि ती औपचारिक सन्धि नै हुन् कि होइनन् भन्ने निश्चित नभएको बताए। तर सन्धिको सक्कलप्रति खोजेर अध्ययन गर्ने सरकारको तयारी रहेको उनले बताए ।
खनालले परराष्ट्र मन्त्रालयको स्थायी भवन निर्माण आगामी आर्थिक वर्षदेखि सुरु हुने जानकारी पनि दिए। हाल गृह मन्त्रालय रहेको जग्गामा भवन निर्माणको तयारी भइरहेको र ५० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उनले बताए। उनका अनुसार नेपालसँग हालसम्म ६५५ सन्धि–सम्झौता छन्, जसमा ५५ परिमार्जन वा सम्पन्न भइसकेका छन्। बाँकी करिब ६०० सन्धि–सम्झौता आवश्यकता अनुसार पुनरवलोकन, परिमार्जन वा नवीकरण गर्ने नीति रहेको उनले स्पष्ट पारे।

