काठमाडौं – पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटिँदा कड्किए। उनले पछिल्लो जेनजी आन्दोलनपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि गरेको अनुसन्धान, घरमा आगजनी र पक्राउ पुर्जी जारी भएको घटनालाई स्मरण गर्दै सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएकोपनि स्मरण गराए ।
देउवाले बदमासीपूर्ण काम भए पनि आफू बदलाको भावना लिनु नसक्ने स्पष्ट पारे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफूलाई असजिलोमा पार्न नसकेको भन्दै, “राजा ज्ञानेन्द्रले त सकेन, तिमीहरु, अरूले सक्छ यहाँ ?” भन्दै प्रश्न उठाए।
उनले जनतालाई मालिक ठानेकोले कसैले केही गर्न नसक्ने दाबी गर्दै संविधानसभाले ल्याएको गणतन्त्र जनताको चाहनाबाट आएको हो भने। चुनदेवी सम्पर्क कार्यालयमा देउवालाई सभापतिका रूपमा बेग्लै कोठा उपलब्ध गराइएको नेताहरूले जनाएका छन्।

