काठमाडौं – कुनै समयकी चर्चित पत्रकार रमा सिंहले कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको हालैको भाषणलाई विश्लेषण गर्दै राजसंस्था फर्किने संकेत देखिएको टिप्पणी गरेकी छन्। देउवाले लिखित भाषणमा वीपी कोइराला र राष्ट्रिय मेलमिलापको चर्चा गरे, तत्पश्चात् स्वतःस्फूर्त भाषणमा ‘प्रजातन्त्र मान्ने राजसंस्था मैले मानेकै हो’ भनेका थिए।
सिंहले देउवाले लामो विदेश बसाइपछि फर्किँदा राजालाई सम्झिएको भन्दै, ‘कतै संविधानिक राजसंस्थाप्रतिको वीपीको लाइनको संकेत त होइन ?’ भनेकी छिन् । उनले चेतावनी दिँदै भनिन्, ‘यदि कांग्रेस कोर्स करेक्सनमा गएको हो भने ठीक, नभए देश गृहयुद्धतर्फ धकेलिनेछ र यसको जिम्मा कांग्रेसले लिनुपर्छ।’ उनले एमाले र माओवादीलाई काँधमा बोकेर सत्ता सञ्चालन गरेको इतिहास जनताले बिर्सने नसक्ने भन्दै कांग्रेसले जनताको विश्वास गुमाउने खतरा रहेको टिप्पणी गरिन्।
प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार

