२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन्।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।

त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थि ए।

पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ। अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन। जेन–जी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंलगायत देशभरि प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसात्मक बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस