२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

महाराष्ट्रमा ‘रिभर्स वाटरफाल’को चमत्कार: विज्ञानले बुझायो यसको रहस्य

प्रकाश काफ्ले/काठमाडौं। भारतको महाराष्ट्र राज्यमा मनसुन सुरु हुँदा  देखिएको एक अनौठो प्राकृतिक दृश्य यतिबेला सबैलाई अचम्मित बनाएको छ। पश्चिमी घाट क्षेत्रअन्तर्गत पर्ने पहाडी भूभागमा खिचिएको भिडियोमा झरनाको पानी सामान्यजस्तै तल झर्ने सट्टा शक्तिशाली हावाको प्रभावले माथितिर उडिरहेको देखिन्छ, जसलाई ‘रिभर्स वाटरफाल’ अर्थात् उल्टो झरना भनेर चिनिएको छ। भिडियो सार्वजनिक भएसँगै धेरै प्रयोगकर्ताहरूले यसलाई ‘प्रकृतिको चमत्कार’ भन्दै प्रतिक्रिया दिएका छन् भने कतिपयले यो दृश्यले गुरुत्व बलको नियमलाई नै चुनौती दिएको टिप्पणी गरेका छन्। विशेषगरी माल्शेज घाट, लोणावला र खंडाला जस्ता क्षेत्रहरूमा यस्ता दृश्यहरू प्रायः मनसुनको चरम समयमा देखिने गरेको जनाइएको छ।

विज्ञहरूका अनुसार भने यो कुनै अलौकिक घटना नभई पूर्ण रूपमा वैज्ञानिक कारणमा आधारित प्राकृतिक प्रक्रिया हो। मनसुनका बेला तीव्र गतिमा बहने हावाले अग्ला भीरबाट तल झर्दै गरेको पानीलाई साना कण वा कुहिरो (मिस्ट) मा परिणत गरी माथितिर धकेल्ने गर्दछ। जब हावाको वेग पानीमाथि पर्ने गुरुत्व  बल भन्दा बढी प्रभावशाली हुन्छ, तब झरनाको पानी उल्टो दिशामा उडिरहेको जस्तो देखिन्छ। यस्तो घटना विशेषगरी अग्ला चट्टान, साँघुरा घाट र हावाको दबाब बढी हुने स्थानहरूमा देखिन्छ, जसका लागि पश्चिमी घाट को भौगोलिक संरचना अत्यन्त अनुकूल मानिन्छ।

मनसुन सुरु भएसँगै महाराष्ट्र का विभिन्न पर्यटकीय क्षेत्रहरू हरियालीले ढाकिनुका साथै यस्ता दुर्लभ प्राकृतिक दृश्यहरूले पर्यटकको आकर्षण बढाएको छ। सामाजिक सञ्जालमा भाइरल भएका यस्ता भिडियोहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई ती क्षेत्रतर्फ आकर्षित गरिरहेका छन्। यद्यपि, मनसुनको समयमा तीव्र वर्षा, चिप्लो बाटो, पहिरोको जोखिम तथा बलियो हावाका कारण यात्रा चुनौतीपूर्ण बन्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८३ बैशाख १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस