२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

बालेनले भने– हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको स्पष्ट पारेका छन्। शुक्रबार मधेशवादी दलका नेतासँगको छलफलमा उनले हिन्दू राष्ट्र बनेपछि राजा जोडिएर आउने भएकाले त्यसले संघीयतालाई कमजोर पार्ने भन्दै समर्थन नगर्ने बताए।

जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माका अनुसार बालेनले “हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, संघीयताको कमिटमेन्ट पूरा गरेर जान्छु” भनेका थिए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि बालेनले संघीयतालाई बलियो बनाउने पक्षमा रहेको धारणा राखेको बताए।

प्रधानमन्त्रीले छानबिन प्रतिवेदनमा दोषी देखिएकालाई कारबाही गर्ने, पीडितसँग भएका सम्झौता कार्यान्वयन हुनेमा ढुक्क रहन आग्रह गरे। उनले साम्प्रदायिक दंगा भड्काएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वविरुद्ध सबै मिलेर लड्नुपर्ने उल्लेख गर्दै तराई–मधेसमा देखिएको तनाव साम्य पार्न सरकार सक्रिय रहेको बताए।

दलका नेताहरूले गृहमन्त्रीले सुनसरीमा गरेको सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले मधेशकेन्द्रित दलहरूसँग करिब दुई घण्टा छलफल गरेका थिए।

 

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस