काठमाडौं । यी हुन् फडिन्द्र नेपाल । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने पहिलो व्यक्ति । प्रमाण खोजेर संयुक्त राष्ट्रसंघ पुर्याए । विश्वको शक्तिशाली भनिएको भारतलाई पसिना छुटाए । पाटन क्याम्पसका एक सामान्य प्राध्यापक जो काठमाडौंमा भाडामा बस्छन् । उनीसँग ठूलो टीमपनि छैन । फण्ड दिने दातापनि छैनन् । तर नेपाल आमालाई गुन लगाउन बारम्बार लडिरहेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर राष्ट्रभक्ति देखाएको भन्दै केपी ओली सहितका अनेक नेताले जस लिन खोज्छन् ।
तर पाटन क्याम्पसका प्राध्यापक नेपाल उनै व्यक्ति हुन् जसले यी भूमी नेपालका हुन् भनेर पहिलो पटक प्रमाणसहित प्रस्तुत भएका थिए । दुई दशकभन्दा बढी समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूभाग साबित गर्न कानूनी र ऐतिहासिक प्रमाणहरू प्रस्तुत गरिनै रहेका छन् । उनले ग्रेटर नेपाल राष्ट्रिय मोर्चा खोलेर सुगौली सन्धीले गुमाएको भूभाग फिर्ता माग्ने अभियान चलाएका हुन्।
फडिन्द्रले १८१६ को सुगौली सन्धी, १९५० को नेपाल–भारत मैत्री सन्धी, नेपाल–बेलायतबीचको सम्झौता, संयुक्त राष्ट्रसंघका दृष्टान्तहरू लगायत छवटा बलिया प्रमाण अगाडि सारेका छन्। उनका अनुसार यी प्रमाणहरूले कालापानी नेपालकै भूभाग भएको स्पष्ट गर्छन्। २० वर्षसम्मको बौद्धिक संघर्षपछि सन् २०२० मा नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्दा फडिन्द्रको अभियानले ठुलो सफलता पाएको थियो। उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् भवन अगाडि समेत ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेर अन्तर्राष्ट्रिय ध्यान खिचेका छन्। संयुक्त राष्ट्रसंघका बैठकहरुमा पुगेर प्रमाण प्रस्तुत गरेका छन् ।
फडिन्द्रको भनाइमा ग्रेटर नेपाल कुनै काल्पनिक सपना होइन, कानूनी र ऐतिहासिक अधिकार हो। यसले नेपाललाई २,००४,९१७ वर्ग किलोमिटर भूभाग दिलाउने, समुद्रसम्म पहुँच दिने र भारतमा दोस्रो दर्जाका नागरिक बनेका नेपालीलाई आत्मसम्मान दिलाउने सम्भावना बोकेको छ।

