२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

देउवाले भने म कुनै शक्ति प्राप्त गर्न आएको होइन, राष्ट्रिय एकताका लागि आए

काठमाडौं – स्वास्थ्य उपचारका लागि पाँच महिना सिंगापुर र हङकङमा बसेर नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागतपछि उनले अपिल जारी गर्दै आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको स्पष्ट पारे।

देउवाले ०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट फर्किँदा दिएको राष्ट्रिय एकताको सन्देशलाई स्मरण गर्दै अहिले फेरि सर्वपक्षीय एकताको आवश्यकता देखिएको बताए। उनले प्रतिशोधभन्दा मेलमिलाप रोज्नुपर्ने, कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरून्त समाधान गर्नुपर्ने र पार्टीले जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने अपिल गरे।

उनले कांग्रेस अंकगणितीय रूपमा सानो–ठूलो भए पनि २००७ सालदेखि राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएको उल्लेख गर्दै सबै दलसँग सहकार्य गरेर राष्ट्रियता र लोकतन्त्र सुदृढ गर्नुपर्ने बताए। युवा र अनुभवीबीच सहकार्य आवश्यक रहेको भन्दै पार्टीभित्रका भावनालाई पुनः जोड्न सम्पूर्ण नेताहरूलाई आग्रह गरे।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस