सुनसरी । बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती गरिने विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस–२०२६ को पूर्वसन्ध्यामा सुनसरीको गढी गाउँपालिका–१ मा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड), सुनसरीको आयोजनामा, जष्ट राइट फर चिल्ड्रेन इन नेपाल तथा टियर फन्डको सहयोग र गढी गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
दीप प्रज्वलन कार्यक्रममार्फत बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाहजस्ता सामाजिक कुरीतिहरूको अन्त्य गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र बालबालिकाको अधिकार संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्भरता तथा समग्र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको थियो। बालबालिकालाई आफ्नो उमेरअनुसार शिक्षा, संरक्षण, विकास र निर्णय प्रक्रियामा सहभागिताको अवसर सुनिश्चित गर्नु राज्य, स्थानीय सरकार, अभिभावक तथा समुदाय सबैको साझा दायित्व रहेको सन्देशसमेत प्रवाह गरिएको थियो।

त्यसैगरी, बालविवाह अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भएकाले सामाजिक सोच, परम्परा र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको औँल्याइएको थियो। यसका लागि स्थानीय सरकार, नागरिक समाज, सामाजिक संघसंस्था, विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्य र निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।
दीप प्रज्वलन कार्यक्रमले बालविवाहमुक्त समाज निर्माण, बालबालिकाको मौलिक अधिकारको सुनिश्चितता र किशोरीहरूको सुरक्षित तथा सम्मानजनक भविष्य निर्माणका लागि सबै सरोकारवालालाई एकजुट हुन प्रेरित गरेको छ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड), सुनसरी विगत लामो समयदेखि महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार, सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था हो। संस्थाले महिला सशक्तीकरण, बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण तथा अन्त्य, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विगतका अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै वर्तमानमा पनि फरवार्डले स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार र समुदायसँगको सहकार्यमा बालबालिकाको संरक्षण, महिला अधिकार प्रवर्द्धन र समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि विभिन्न अभियान तथा कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।


