२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

सुरक्षाको कारण देखाउँदै रोकियो आदिपुरूषको बिहानी शो

काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकेका छन्। बिहीबार ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। सेन्सर बोर्डले उक्त संवाद हटाएर फिल्म चलाउन अनुमति दिएको थियो।

तर, दर्शकहरूमा आक्रोश देखिएको भन्दै बिहानी शो रद्द गरिएको क्युएफएक्सकी बजार प्रबन्धक तृष्ती गिरीले बताइन्। ‘हामीले असुरक्षाका कारण बिहानी शो रद्द गरेका हौं। सेन्सर बोर्डले विवादित संवाद म्युट गरेर फिल्म चलाउन अनुमति दिएको थियो तर हिजो रातिबाट राष्ट्रघातीतर्फ कुरा मोडियो। मान्छेहरू निकै आक्रोशित देखिनु भएको छ। त्यसैले सुरक्षा नपुग्ला भने बिहानी शो रद्द गरिएको हो,’ उनले भनिन्। यस विषयमा चलचित्र विकास बोर्डमा छलफल भइरहेको उनले बताइन्।

‘अहिले पनि यति बजेदेखि फिल्म लाग्छ भन्ने अवस्था छैन,’ उनले भनिन्। क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सिडिसी सिनेमाज लगायतका हलहरूले शो रोकेका छन्। उपत्यकाबाहिर भने आदिपुरुषको प्रदर्शन भइरहेको छ। ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्। रामायण कथामा आधारित भएर चलचित्र निर्माण गरिएको छ। सीता (जानकी) नेपालकी छोरी भन्नेमा कुनै विवाद छैन । तर चलचित्रमा भारतीय छोरी भनिएको छ । यो सम्वाद नेपालमा चल्ने फिल्ममा मात्र हैन भारतभर परिवर्तन नगरिए काठमाडौंमा हिन्दी फिल्म नै चल्न नदिने अडान काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस