२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई रिहा

खोटाङ । यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन् । छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएको वैशाख २९ गते पक्राउ परेका कृषिविज्ञ राई आज सोमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभयो ।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापकरसञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो । आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेको थियो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस