२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

सीआईबीले लियो पूर्वमुख्यसचिव लीलामणि पौड्यालको बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा अनियमितता प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । ब्यूरोले पौड्याललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषद्को निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे जानकारी माग गरेको हो ।

सीआईबी स्रोतले भन्यो, ‘हिजो दिउँसोदेखि सुरु भएको बयान राति अबेरसम्म चलेको थियो । फेरि भोलिपल्ट आउनुभन्दा बरु रातिसम्म बसेर काम टुंग्याउने कुरा भएपछि अबेरसम्ममा बयान भएको हो ।’ २०६९ सालमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललितानिवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यो स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकको निर्णय मुख्यसचिव पौड्यालले प्रमाणीकरण गर्नुभएको थियो । त्यही विषयमा सीआईबीले पौड्यालसँग बयान लिएको हो ।

साढे तीन वर्षअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मुख्यसचिव पौड्यालसँग बयान लिएको थियो । बयानमा उहाँले मन्त्रिपरिषद् बैठकमा पेश भएका प्रस्ताव मुख्यसचिवले पढेर सुनाउने भन्दै छलफल र निर्णयमा मुख्यसचिवको भूमिका नहुने दावी गर्दै आउँनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस