२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो

Pakrau arrested

चरिकोट, असोज ११ गते । दोलखाको सिंगटी बजारबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगर छन् । उनीहरुलाई बिगु गाउँपालिकाकै वडा नम्बर १ को विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको दोलखा प्रहरीले जनाएको छ ।

बुधबार राति बिगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरबाट सुन जस्तो देखिने पहेंलो धातु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले बताए ।

इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा १० जनाको टोलीले उनीहरुको घर खानतलासी गर्दा सुन जस्तो देखिने चार केजी पहेंलो धातु बरामद गरिएको सूचना अधिकारी यादवले जानकारी दिए । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काको कमाण्डमा १० जनाको टोलीले अनुसन्धान गरिरहेको दोलखा प्रहरीले जनाएको छ । तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस