२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एमाले प्रवेश गरेको केहीबेरमै मन्त्री

जनकपुर । स्वतन्त्र रुपमा निर्वाचित भएका प्रमोद जयसवाल नेकपा (एमाले) प्रवेश गरेको केहीबेरमै मन्त्री बनेका छन्। २०७९ सालको प्रदेश सभा निर्वाचनमा उनी पर्सा ३ ‘क’ बाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए। प्रदेश सभामा आफ्नो धारणा राख्दा जनता समाजवादी पार्टी (जसपा)को पक्षमा देखिने गरेका थिए। धेरैको आकलन थियो, उनी जसपामा प्रवेश गर्छन्।

तर शनिबार एमाले प्रवेश गरेर मन्त्री बनेका छन्। उनी मन्त्रीको रुपमा सपथ लिएको केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए। मधेश प्रदेश सभामा एमालेका २४ सांसद छन्। प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल पनि हो। संसदीय दलका नेता सरोजकुमार यादव चैत ५ मा मन्त्री बनेका थिए।

त्यसपछि एमालेमा मन्त्रीका लागि दौडधुप चलिरहेको थियो। थुप्रै सांसदले ‘लबिइङ’ गरिरहेका थिए। मन्त्रीको टुंगो लगाउन गाह्रो भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। एमालेका पुराना सांसदलाई पछ्याउँदै जयसवाल मन्त्री बनेका छन्। उनलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्री बन्ने पक्का भएपछि मात्रै उनी एमालेमा प्रवेश गरेका हुन्।

उनलाई एमालेमा ल्याउन कि नल्याउने भन्नेमा पनि विवाद थियो। मन्त्रीको शपथ लिएपछि संक्षिप्त कुराकानी गर्दै जयसवालले अब सबै विवाद समाधान हुने प्रतिक्रिया दिए। “आज म एमालेमा प्रवेश गरेको छु, सबै कुरा मिल्दै छ,” उनले भने। जयसवालको प्रवेशसँगै मधेश प्रदेश सभामा एमालेका २५ सांसद पुगेका छन्। नेपाली कांग्रेसका २२ सांसद छन् भने तेस्रो नम्बरमा रहेको जसपाका १९ सांसद छन्।

जसपाका सरोजकुमार यादवले सरकारको नेतृत्व गरिरहेका छन्। यसअघि कांग्रेसले मुख्यमन्त्री बनाएको थियो भने अहिले एमालेले समर्थन गरिरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस