२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा

२१ चैत, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको छ । साइबर अर्थात् विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन् ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।

महानगरपालिकाले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो । अनि पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए ।

साइबर अपराधको मुद्दा चलाइएका पौडेल यसअघि झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतले ५ माघ २०७७ मा उनीविरुद्ध २५ हजार जरिवाना सुनाएको थियो । पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस