२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

अन्तिम समयमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो नेपाल

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले एक अङ्क जोडेको छ। अघिल्ला पाँच खेलमा गोल र अङ्क विहीन नेपालले अन्तिम खेलमा भने यमनसँग २-२ गोलको बराबरी खेल्दै अङ्क जोडेको हो।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे। नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुग्दा सुरुवातमै नेपाल १-० ले पछि परेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।

तर पहिलो हाफमै खेलमा फर्किने क्रममा नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गर्‍यो। यमनका डिफेन्डर र गोलरक्षकले गरेको गल्तिको फाइदा उठाउन नेपाल सफल भयो। एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बललाई भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा नेपालले अग्रता लियो। ६६औं मिनेटमा छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवको हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो।

तर इन्जुरी समयमाको पहिलो मिनेटमा यमनले बरबरी गोल फर्कायो। उसका लागि मोहम्मद अल-दाहीदृ गोल गर्दै सम्भावित हार टारे। नेपालले यस अघि कुनै पनि खेलमा गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो। तर अन्तिम खेलमा २ गोल गर्दै निरन्तर गोलविहीन यात्राको अन्त गरे।

नेपालले समूहका ६ खेलमा १ अंक सहित तालिकाको पुछारमा रहेर दोस्रो चरणको यात्राको अन्त्य गरेको छ। नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। अब नेपाल र यमनले भने एसियाकप छनोटको अर्को चरण खेल्न पाउने छन्।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस