२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

एमालेको दाबी– बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए । ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ अधिकारीले भने, ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।

‘हामीले कार्यक्रम गर्‍यौं, आफैं सफा पनि गर्‍यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने । मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस