२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

अधिवक्ता त्रिपाठीमाथि कुटपिट प्रकरणः पक्राउ परेका ललित को हुन् ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति दोलखा निवासी ४६ वर्षीय ललित केसी हुन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले केसीलाई बुधबार बबरमहलबाट नियन्त्रणमा लिइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन्। प्रहरीका अनुसार, त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा जाहेरी दिएका हुन्। उनीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो।

त्रिपाठीका अनुसार, उनलाई रवि लामिछाने र रास्वपाका समर्थकहरूले निशाना बनाएका थिए। कुटपिटमा संलग्नहरूले अश्लील गाली गलौज गर्दै ‘रवि दाइविरुद्ध मुद्दा लडेर जेल पुर्‍याउने तैँ होइनस्’ भनेका थिए।

प्रहरीले केसीको रास्वपासँगको सम्बन्धबारे पुष्टि भइनसकेको बताएको छ। अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिनेछ।

नेपाल बार एशोशिएसनलगायतका संस्थाहरूले त्रिपाठीमाथि भएको आक्रमणको विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। विभिन्न दलहरूले पनि अधिवक्तामाथिको आक्रमणप्रति गम्भीर आपत्ति जनाएका छन्।

 

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस