२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

आज अक्षय तृतीया पर्व मनाइँदै, सातु र सर्वत दान एवं सेवन गरिने

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ। आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।

 

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस