२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

१५, १७ र १८ वर्षका ६ किशोरी भारत लगिँदै गर्दा उद्धार, फेसबुकबाट दलालले पासोमा पारे

Six Girls Aged 15, 17, and 18 Rescued While Being Trafficked to India; Trapped by Agent via Facebook

रुपन्देही । फेसबुकबाट दलालसँग फसेर भारत लगिँदै गरेका ६ किशोरीको उद्धार गरिएको छ । माइती नेपाल आवधिक गृह भैरहवा र इलाका प्रहरी कार्यालय बेलहिया रुपनदेहीको संयुक्त पहलमा ६ जना किशोरीहरूलाई बेलहिया नाकाबाट उद्धार गरिएको छ । भैरहवास्थित माइती नेपालको कार्यालयले भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भन्दै त्यसतर्फ लैजाँदै गरेको अवस्थामा छ किशोरीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको छ ।

रुपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका किशोरीहरूलाई आफन्त बनेर १० हजार भारतीय रुपैयाँ तलब पाउने भन्दै भारत लैजाँदै गर्दा बाटोमा सोधपुछ गर्दा उनीहरुलाई शङ्का लागेर भैरहवा फिर्ता गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बताइन् । झाडुपोछा तथा बिरामीको हेरचाहको काममा लगाउने भन्दै १५, १७ र १८ वर्ष उमेरका किशोरीहरू अभिभावकको सल्लाहमै त्यसतर्फ जान लागेको उनीहरूले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजानका आधारमा ती किशोरीहरूलाई भारततर्फ लैजाने प्रयास गरिएको र राजस्थानमा एक जनाले त्यहाँ पुगेपछि व्यवस्थापन गर्ने भनिएको उनीहरूले बताएका छन् । जानका लागि टिकटबापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको पनि उनीहरूले जानकारी गराएका छन् । किशोरीहरूलाई प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा माइती नेपालको आवधिक गृहमा राखेर अभिभावकको जिम्मा लगाइएको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस