काठमाडौं । बलिउडका चर्चित गायक उदित नारायण झाकी पहिलो श्रीमती रञ्जना झाले उनीमाथि गम्भीर आरोप लगाएकी छिन्। सुपौल पारिवारिक अदालतमा वैवाहिक अधिकार पुनर्स्थापनाको मुद्दा दायर गर्दै उनले उदितले आफूलाई घरबारविहीन बनाएको र दोस्रो विवाहको वैधानिकता समेत प्रश्न उठाएको बताइन्।
रञ्जनाले भनिन्, ‘मेरो विवाह उदित नारायण झासँग भएको थियो, र हाम्रो सम्बन्ध कानुनी रूपमा अहिलेसम्म टुंगिएको छैन। यस्तो अवस्थामा, उनको दोस्रो विवाह कसरी मान्यता प्राप्त हुन सक्छ? कानुनी रूपमा म नै उनकी श्रीमती हुँ, अरू कोही होइन।’ दैनिक भास्करसँग कुरा गर्दै उनले भनिन्, ‘उदित जीले हरेक महिना २५ हजार रुपैयाँ पठाउनुहुन्छ। तर, त्यही पैसाले म घर भाडा तिर्छु, औषधि किन्छु। यो पैसाको कुरा होइन, मलाई उनको साथ चाहिएको हो।’
सन् २०२२ मा रञ्जनाले विवाह पुनर्स्थापनाको लागि अदालतमा मुद्दा दायर गरेकी थिइन्। तर, उदित नारायण अदालतमा उपस्थित नभएको कारण उनलाई जरिवाना समेत लगाइएको थियो। २१ फेब्रुअरीमा अदालतमा उपस्थित भएपछि पनि उनले रञ्जनालाई आफूसँग बस्न अस्वीकार गरे। अब यो मुद्दाको अर्को सुनुवाइ २८ अप्रिलमा हुनेछ।
रञ्जनाले गुनासो गरिन्, ‘उदितले मेरो घर बनाउने वाचा गरेका थिए, तर त्यसको सट्टा उनले मेरो घर नै बेचिदिए। अहिले म भाडाको घरमा बस्न बाध्य छु। म बिरामी छु, एक्लो छु, मलाई न्याय चाहिन्छ। संघर्षका दिनमा म उनको साथ थिएँ, तर अहिले मलाई एक्लै छोडिएको छ।’

