२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

प्रधानाध्यापकले छात्रालाई अश्लील म्यासेज पठाएको आरोप, छानबिनपछि राजीनामा !

२२ फागुन, काठमाण्डौँ । छात्रालाई आपत्तिजनक म्यासेज पठाएको आरोप लागेपछि सल्यानको कपुरकोट गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले राजीनामा दिएका छन् । विद्यालयमा अध्ययनरत कक्षा १० की छात्राले प्रधानाध्यापक केसीले अश्लील म्यासेज पठाएको भन्दै गाउँपालिकामा उजुरी दिएकी थिइन् ।

उजुरीपछि गाउँपालिकाले स्पष्टीकरण माग्दै निलम्बनको प्रक्रिया अघि बढाए पछि प्रधानाध्यापकले स्पष्टीकरण दिनुअघि नै पदबाट राजीनामा दिएका हुन् ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रकाश भण्डारीका अनुसार उजुरी परेपछि प्रधानाध्यापकलाई स्पष्टीकरणसहित निलम्बन गर्न पत्राचार गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर सेनले प्रधानाध्यापक केसीले तीन दिनअघि नै राजीनामा बुझाएको जानकारी दिए ।

यस विषयमा प्रधानाध्यापक केसीले भने आफूले गलत नियत नराखेको दाबी गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिले वामदेव अधिकारीलाई नयाँ प्रधानाध्यापकको रूपमा नियुक्त गरेको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस