काठमाडौं । २०७८ साल फागु पूर्णिमाका दिन काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा दिनदहाडै युवकको हत्या भएको तीन वर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन सकेको छैन।
हत्या भएको तीन वर्ष भइसक्दा पनि प्रहरी अनुसन्धानले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन। बागबजार जस्तो व्यस्त क्षेत्रमा, प्रहरी कार्यालयबाट केही दूरीमै भएको यो घटनाले सुरक्षाप्रति प्रश्न उठाएको छ।
हत्या गरिएका व्यक्ति २५ वर्षीय रोशन राई हुन्, जो भक्तपुर बसपार्कस्थित सार्वजनिक शौचालयमा काम गर्थे। ४ चैत २०७८ को दिउँसो १२:३० बजे करिब ४/५ जनाको समूहले उनलाई कुटपिट गरी हत्या गरेको थियो। घटनाको भिडिओ फुटेजमा आक्रमण गर्नेहरू प्रष्ट देखिए पनि अहिलेसम्म प्रहरी उनीहरूको पहिचान गर्न असफल भएको छ।
घटनाको प्रारम्भ शौचालय शुल्क नतिरेको विवादबाट भएको बताइन्छ। शौचालय प्रयोग गरेका व्यक्तिले पैसा नतिरेपछि राईले चक्कु देखाएर लखेटेका थिए। तर, फर्कने क्रममा उनीमाथि आक्रमण भयो। भिडिओमा उनी ढल्दै गर्दा लगातार मुक्का, लात्ती प्रहार भइरहेको देखिन्छ। वरपर ३०/४० जना मानिस भए पनि कसैले रोक्ने प्रयास गरेनन्।
हत्या भएको दिनकै भिडिओ फुटेजको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले केही संदिग्धहरूको हुलिया पहिचान गरी भक्तपुरसम्म अनुसन्धान बढाएको थियो। तर, त्यसपछि अपराधीहरू बेपत्ता भए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार यो घटनालाई पुनः प्राथमिकतामा राखिएको छ। तीन वर्षको अवधिमा प्रहरी नेतृत्वमा धेरै परिवर्तन भए पनि घटनाको अनुसन्धानमा कुनै ठोस प्रगति भएको छैन।
काठमाडौंको मध्य भागमा भएको यो जघन्य हत्याका दोषी अझै पक्राउ नपर्नु सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ।

