काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको उच्च कर नीतिमाथि औंला ठाडो पारेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आत्मसमर्पणको आरोप लागेको छ। अप्रिल २, २०२५ बाट लागू हुने अमेरिकी पारस्परिक करको त्रासले भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले उद्योगहरूलाई चीनबाट आयात हुने सामानको सट्टा अमेरिकी सामान रोज्न निर्देशन दिएको छ। भारतीयहरूले नै मोदीलाई “नरेन्द्र होइन, सरेन्डर” भन्दै आलोचना गरिरहेका छन्।
मन्त्रालयका अनुसार, ट्रम्पको २५% करले स्टिल र एलुमिनियममा भारतको ५ अर्ब डलरको निर्यात प्रभावित भएको छ, जसमा ३ अर्ब डलर साना तथा मझौला उद्यमबाट आएको छ। समुद्रमा रहेका १ अर्ब डलरका सामान पनि यो करको मारमा पर्नेछन्। उद्योग प्रतिनिधिहरूसँगको बैठकमा कपडा, रत्न आभूषण र इलेक्ट्रोनिक्समा अमेरिकालाई बजार पहुँच दिने छलफल भएको छ। कपडा क्षेत्रले अमेरिकी सामानमा शून्य कर स्वीकार गरेको छ, तर रत्न आभूषण क्षेत्रले हिराको कर ५% बाट २.५% मा झार्न माग गरेको छ।
विश्व व्यापार संगठनले व्यापार नीतिको अनिश्चितताले मध्यम अवधिमा असर पार्न सक्ने चेतावनी दिएको छ। तर, केही भारतीय निर्यातकर्ताले अमेरिकाले चीन, मेक्सिको र क्यानडामाथि कडा कर लगाउँदा भारतलाई फाइदा पुग्ने बताएका छन्। “कृषि बाहेकका क्षेत्रमा हाम्रा सामानको लागत कम छ, यो हाम्रा लागि अवसर हो,” एक सहभागीले भने।
ट्रम्पसँगको फेब्रुअरी २०२५ को भेटमा मोदीले अमेरिकी तेल, ग्यास र लडाकु विमान किन्ने सम्झौता गरेपछि भारतीयहरूले उनलाई ट्रम्पसामु झुकेको आरोप लगाएका छन्। यो कदमले भारतको चीनसँगको ११८.४ अर्ब डलरको व्यापार सम्बन्धमा पनि प्रश्न उठाएको छ।

