काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–१ स्थित राधा बोहोराको हत्यामा नयाँ खुलासा भएकोे छ। सो घटनामा संलग्न भएको आरोपमा उनका भिनाजु ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया उमाकुमारी खत्रीलाई पक्राउ गरिएको छ।
गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ को भुरिगाउँमा राधाको शव फेला परेको थियो। बाहिरबाट ताला लगाएको घरमा शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो। मृतक राधाको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधिएको अवस्थामा फेला परेको थियो।
हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा लेनदेन र घरायसी विवादका कारण हत्या भएको खुल्न आएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

