२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

बिग्रिदो मौसम कहिलेबाट सुध्रिन्छ ? – यसो भन्छन् मौसमविद्

weather forecast nepal today

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ ।

विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ । गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो । यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ । त्यसैले आज वर्षा र हिमपातको सम्भावना छैन । शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ परेको थियो । हिमपातले केही जिल्लामा यातायात आवागमन नै प्रभावित भएको थियो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने लुकुम–पातिहाल्ना खण्डमा परेको हिमपातले गाडी चल्न नसक्दा यात्रुहरु अलपत्र परेका थिए । शनिबार दिनभर हिउँ पन्छाएर तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुहरुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

हिउँ सकिनेबेला भएको हिउँदे झरी र हिमपातका कारण कतिपयलाई यात्रामा कष्ट भए पनि बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् । लामो समयदेखिको खडेरीले किसानहरु मर्कामा परेका थिए ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस