काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् । रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं । चैत मसान्त अब एक कार्यदिन मात्र बाँकी छ । सरकारको यो अडान अन्तिम हो भने फेसबुक केही दिन लगभग बन्द हुने निश्चित छ । किनभने एक कार्यदिनमा दर्ता सम्भव छैन ।’
सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नुपरेको बताए । उनले सामाजिक सञ्जाल अरु देशमा दर्ता भएर चल्ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि त्यो आवश्यक रहेको उनको भनाइ थियो । ‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको छ। तर, नेपालमा बिनादर्ता नै चलिरहेको छ। अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ।’
उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्दै चलाउन कुनै रोकतोक नहुने बताए । ‘सरकारले अनलाइन मिडियाहरू पनि बन्द गर्दैछ ? नियमन गर्दैछ भन्ने हल्ला जुन चलेको छ, त्यो भ्रम हो । संविधानमा दिएको प्रेस स्वतन्त्रताको हक कायम हुन्छ । यस्तै साइबर सेक्यूरीटीको विधेयक पनि आउँदो संसद्मा पेश गर्ने सरकारको तयारी रहेको उनले बताए । चर्चित सामाजिक सञ्जालहरुमा टिकटक भने नेपालमा दर्ता भइसकेको छ । यो भने चल्नेछ ।

