काठमाडौं । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१०, तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो दाङबाट कुलपूजा गरेर फर्कने क्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार दुर्घटनामा ५० वर्षीय नरबहादुर ओली र उहाँकी श्रीमती ४४ वर्षीया लिला ओलीको मृत्यु भएको हो। नरबहादुरको घटनास्थलमै मृत्यु भएको भने लिलालाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको हो।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते छन्— ६० वर्षीया रुद्री ओली र ४४ वर्षीय चालक लिलामणी भण्डारी। उहाँहरूलाई चौरजहारी अस्पतालमा उपचार गरिँदैछ।
ब्रेक फेल भएर गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

