काठमाण्डौ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको प्रभावले यही बुधबार कात्तिक ११ देखि १५ गते अर्थात् ५ दिनसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
मौसमविद्हरूले यो समयमा सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रणालीको अवस्था र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे आज दिउँसो सम्म थप स्पष्ट हुने बताउनुभएको छ ।
मौसमको अवस्था हेरेर तत्कालै बाली काट्न र सुरक्षित ठाउँमा भण्डारण गर्ने व्यवस्था मिलाउन मौसमविद्को आग्रह छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राका क्रममा मौसम प्रतिकूल हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा बुधवारदेखि आईतबारसम्म यात्रा गर्दा थप सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा मौसम प्रभावित हुन सक्ने जनाएको छ । आधिकारिक मौसमी बुलेटिन र सूचनालाई नियमित रूपमा हेर्न तथा सम्भावित जोखिमबाट बच्नका लागि पूर्वतयारी गर्न समेत मौसमविद्को सल्लाह छ ।


