२ जेठ, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। आज बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका भूभागहरूमा वर्षा भएको छ। मोरङको हरैचा मापन केन्द्रमा एक घन्टाको अवधीमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ ।
लेटाङमा ९.६ मिलिमिटर, झापाको दमकमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ । इलाम, धनकुटा, सुनसरी, खोटाङ, ताप्लेजुङ, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, पर्वत, कालीकोट लगायका जिल्लाका विभिन्न भूभागहरुका हल्का वर्षा भएको छ । शुक्रबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

