२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुशासन र विकास सरकारको मुख्य कार्यभार हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई मुख्य कार्यभार मानेर अघि बढिरहेको उल्लेख गर्दै ती कार्यमा केन्द्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए। उनले भ्रष्टाचारलाई विकास र सुशासनको शत्रु भन्दै नियन्त्रणका लागि सबैको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए।

प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालय मातहतमा रहेको केन्द्रले नियमित रिपोर्टिङ र निर्देशन अनुरूप अझ सक्रिय बन्नुपर्ने बताए।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालसहित उच्च अधिकारीहरू सहभागी थिए।

प्रतिवेदन अनुसार केन्द्रले सेवा प्रवाहमा प्रभावकारिता ल्याउन नियमन, अनुगमन र छड्के जाँचजस्ता काम गर्दै आएको छ। अनियमितता भेटिएमा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिने प्रचलन छ। सुशासन कायम गर्न २०५९ साउन २७ मा प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा केन्द्र स्थापना गरिएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस