काठमाडौं । लामो प्रतिक्षा पछि सोमबार एक औपचारिक समारोहका बीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भएको छ। जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्ग उद्घाटन गरे।
नेपालको पूर्वाधार क्षेत्रमा दशकौँदेखि चर्चामा रहेको यो आयोजना तत्कालीन प्रधानमन्त्री **झलनाथ खनाल**को नेतृत्वमा २०६७ माघ २३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो। त्यसबेलै काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न नागढुंगादेखि धादिङको नौबिसे जोड्ने सुरुङमार्ग निर्माण गर्ने निर्णय भएको थियो।
प्रारम्भिक अवधारणामा २.४ किलोमिटर लम्बाइ र करिब ५० मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको थियो। अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८–६९ को बजेटमा पहिलो पटक यस आयोजनालाई समेटेका थिए। त्यसपछि सडक विभागले २०१३ मा सम्भाव्यता अध्ययन सार्वजनिक गर्यो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विस्तृत अध्ययन गर्दै २०१५ मा प्राविधिक तथा आर्थिक रूपमा सम्भव भएको प्रतिवेदन बुझायो।
सन् २०१६ मा नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठमा जापानले सहुलियत ऋण दिने घोषणा गर्यो। २०७३ पुसमा १६ अर्ब ६३ करोड जापानी येन (१५.२८ अर्ब रुपैयाँ) बराबरको ऋण सम्झौता भयो। २०१८ मा विस्तृत डिजाइन तयार भएपछि जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसन निर्माणका लागि चयन गरियो।
२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अर्ब रुपैयाँ लागत हुने आयोजनाको शिलान्यास गरे। कोभिड–१९ महामारीका बाबजुद निर्माण जारी रह्यो। २०२४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुङको मुख्य ‘ब्रेकथ्रु’ गरे। १५ वर्षपछि सोमबार यो आयोजना पूर्ण सञ्चालनमा आएको छ। हाल सुरुङमार्ग २.६८८ किलोमिटर लामो छ, जसमा मुख्य सुरुङसँगै आपतकालीन उद्धार सुरुङ पनि समावेश गरिएको छ।

