२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

इजरायलका राजदूत ऐरी र अन्तर्राष्ट्रिय सम्बन्ध समिति संयोजक भगबती चौधरीबीच भेटवार्ता

काठमाडौँ, नेपालका लागि इजरायलका राजदूत श्मुलिक ऐरी बास र प्रतिनिधिसभाको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक माननीय भगवती चौधरीबिच काठमाडौँमा भेटवार्ता सम्पन्न भएको छ।

शिष्टाचार भेटका क्रममा दुई देशबिचको मैत्री सम्बन्ध, कृषि, सूचना प्रविधि (आइटी), युवा रोजगार, तथा इजरायलमा रहेका नेपाली कामदारहरूको सुरक्षा लगायतका विषयमा विशेष छलफल भएको थियो। साथै, कृषि, ऊर्जा तथा नव प्रवर्द्धनात्मक विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि गम्भीर र सौहार्दपूर्ण कुराकानी भएको भेटमा सहभागी स्रोतले जानकारी दिएका छन्।

माननीय चौधरीले नेपाल–इजरायल सम्बन्ध विगतदेखि नै आत्मीय र सुमधुर रहेको उल्लेख गर्दै भविष्यमा यी सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा संसद्को तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, राजदूत बासले नेपालको समृद्धिका लागि इजरायल सरकार सधैँ सकारात्मक रहेको बताउँदै दुवै देशबिचको सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस