२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सचेत रहनुहोला

Heavy-rain-in-Chitwan-1778x1000

काठमाडौं । आज असार ११ गते बुधबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भने भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ। साथै सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाएको छ।

आज रातिसमेत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जनसहितको वर्षा सम्भावित रहेको महाशाखाको भनाइ छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिमसमेत रहेको जनाएको छ।

सामान्यतया २४ घन्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्ष, ५० मिलिमिटरसम्म वर्षालाई मध्यम वर्षा, १०० मिलिमिटरसम्मलाई भारी वर्षा र १०० मिलिमिटर नाघेपछि धेरै भारी वर्षा मानिन्छ भने २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ।

प्रदेशको क्षेत्रफलअनुसार १० प्रतिशतभन्दा कम भागमा वर्षाको सम्भावना देखिए “एक–दुई स्थान”, १० देखि ३० प्रतिशतमा “थोरै स्थान”, ३० देखि ५० प्रतिशतमा “केही स्थान”, ५० देखि ८० प्रतिशतमा “धेरै स्थान” र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना देखिए “अधिकांश स्थान” भन्ने प्राविधिक परिभाषा प्रयोग गरिन्छ।

यस्तो अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेषगरी नदी किनार र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस