२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

चर्चित ६१ किलो सुन तस्करी काण्डमा माओवादी नेतृ रोकाको बयान न्यायाधीश लम्सालको इजलासमा

काठमाडौं । चर्चित ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका काठमाडौं जिल्ला अदालतमा प्रस्तुत भएकी छन्। उनकाे मुद्दा न्यायाधीश बलराम लम्सालको इजलासमा परेको हो।

सरकारी वकिलमार्फत अदालत ल्याइएकी रोकाको बयान सकिएपछि आजै थुनछेक सम्बन्धी बहस गरिने तयारी गरिएको छ। बहसपछि उनलाई धरौटी वा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय आउनेछ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत शुक्रबार काठमाडौंको टोखाबाट उनलाई पक्राउ गरेको हो। उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्यूजन नोटिससमेत जारी गरिएको थियो। रोका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्, जो सोही सुन प्रकरणमा संलग्न थिए। ठमेलस्थित ‘होटेल भियना’ समेत अमलाकै नाममा रहेको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गर्दै बाहिरिएको ६१ किलो सुन २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसपछि अनुसन्धान अघि बढाउँदै विभागले फाइल सीआईबीलाई बुझाएको थियो।

अमला रोका रोल्पाबाट माओवादी आन्दोलनमा सक्रिय नेतृसमेत रहेकी हुन्। उनका श्रीमान दावाले माओवादी नेताहरूसँग सम्बन्ध विस्तार गरेको पृष्ठभूमिसमेत खुलेको छ। साथै, रोकासँग तीन जना चिनियाँ नागरिक र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसहित गोसाइँकुण्ड भ्रमणमा गएको विवरणसमेत सार्वजनिक भएको छ। छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले दिपेश पुनको पनि बयान लिएको छ।

 

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस