२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

कोशी र मधेश प्रदेशका यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

Heavy-rain-in-Chitwan-1778x1000

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा एवं हिमपातको समेत सम्भावना औंल्याइएको छ ।

मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना

आज राति भने मधेश प्रदेशमा समेत वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनले खडेरीको सामना गरिरहेको मधेश प्रदेशमा समेत आज राति वर्षाको सम्भाना रहेको बताइन् ।

उनका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने उनले बताइन् ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको चल्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने सम्भावना पनि छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस