२९ असार , काठमाण्डौँ । तिलोत्तमा नगरपालिका–८ को मिलन टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ गठबन्धन कांग्रेस–एमालेलाई पराजित गर्दै सबै पदाधिकारीमा विजय हासिल गरेको छ। यो टोल पूर्वगृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँण र एमाले अध्यक्ष यज्ञ गैरेको वडामा पर्दछ।
रास्वपाले अध्यक्षसहित चार पदाधिकारी र चार सदस्य जित्दा एमाले, कांग्रेस र राप्रपाबाट केही सदस्य निर्वाचित भए। कुल २७२ घरधुरीमध्ये २३३ मत खसेकोमा अध्यक्षमा रास्वपाका रामाकान्त भुसाल विजयी भए। कांग्रेस र एमालेले उपभोक्ता संस्थामा गरेको भागबन्डाप्रति असन्तुष्टि जनाउँदै मतदाताले विद्रोहको संकेतस्वरूप रास्वपालाई जिताएका हुन्।
यसअघि पनि सोही वडाको वनविहार केन्द्रको चुनावमा सत्तारुढ गठबन्धन पराजित भएको थियो। रास्वपाका स्थानीय नेताले यो परिणामलाई सिण्डिकेटविरुद्धको जनमतका रूपमा व्याख्या गरेका छन्।

