
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (DV) लट्री २०२७ आगामी अक्टोबर महिनाको सुरुमा खुल्ने तयारीमा छ। अमेरिकी विदेश मन्त्रालयले भर्ना मिति, योग्यताहरू र योग्य देशहरूको सूची केही दिनमा आफ्नो वेबसाइट र फेडरल रजिस्टरमार्फत सार्वजनिक गर्ने जनाएको छ।
हालै ट्रम्प प्रशासनले पासपोर्ट अनिवार्य गर्ने प्रस्ताव ल्याए पनि, नियमको अन्तिम कार्यान्वयनमा समय लाग्ने भएकाले आगामी DV २०२७ मा पासपोर्ट अनिवार्य नहुने देखिन्छ। नियम लागु भएपछि, सबै आवेदकले पासपोर्ट विवरण र डिजिटल स्क्यान उपलब्ध गराउनुपर्नेछ।
विदेश मन्त्रालयका अनुसार, पासपोर्ट आवश्यकताले ठगी रोक्न मद्दत पुर्याउने विश्वास गरिएको छ। विगतमा अनधिकृत तेस्रो पक्षले व्यक्तिको अनुमति बिना आवेदन भरेर पैसा लिने, नक्कली कागजात प्रयोग गर्ने जस्ता ठगीहरू भइरहेका थिए।
नेपाली आवेदकहरूको दृष्टिले DV कार्यक्रम निकै महत्वपूर्ण छ। सन् १९९५ देखि हालसम्म ५६,१२४ नेपालीहरूले लट्रीमार्फत अमेरिकी ग्रीन कार्ड पाएका छन्। हालका वर्षहरूमा नेपाली सहभागीको संख्या लगातार बढ्दै गएको छ।
DV २०२५ मा विश्वभरका १,३१,०६,००० आवेदन भएकोमा ५५,००० भिसा उपलब्ध थिए। त्यसमध्ये ३,८६१ नेपाली चयन भए, जसले नेपाललाई एसियामा तेस्रो स्थानमा पुर्याएको थियो।
विदेश मन्त्रालयले आगामी DV २०२७ मा नेपाली आवेदकहरू तयार रहनुपर्ने र ठगी तथा नक्कली कागजातबाट सावधान रहनुपर्ने चेतावनी दिएको छ।