२०८२ असोज ३ गते शुक्रवार | 2025 September 19th Friday

सहिद जेनजीकी श्रीमतीलाई रोजगारी र परिवारलाई १ लाख र खाद्यान्न दिने घोषणा, छोरीलाई निशुल्क पढाइने

काठमाडौँ । लहान नगरपालिकामा मेयर महेशप्रसाद चौधरीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका विजय चौधरीको श्रीमतीलाई रोजगारी दिने घोषणा गरेका छन् । लहान नगरपालिका-१५ का २७ वर्षीय चौधरीको सम्मान तथा परिवारलाई सहज होस् भनेर श्रीमतीलाई रोजगारी दिने घोषणा गरेको मेयर चौधरीले बताएका छन् । 

श्रीमतीलाई रोजगारीसँगै परिवारलाई खाद्यान्न सामाग्रीसहित एक लाख रुपैयाँसमेत सहयोग गरिने मेयर चौधरीले घोषणा गरेका छन् । 

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका विजय चौधरीको श्रीमतीलाई रोजगारी दिने घोषणा गरिएको छ ।

त्यस्तै, मृतक चौधरीकी ४ वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने चौधरीले जानकारी दिएका छन् । चौधरीको भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गएको थियो । श्रीमती र छोरीसहित काठमाडौँमा डेरा गरी बस्दै आएका चौधरी हाउसवायरिङको काम गर्थे ।

मेयर चौधरीको यस्तो घोषणाले जेनजी आन्दोलनमा सहिद भएका चौधरीको परिवारलाई जीवनयापनमा सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस