२०८२ भाद्र २५ गते बुधवार | 2025 September 10th Wednesday

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति कसरी भयो ?

Devotees offered 98 tolas of gold in Pathibhara in 15 months

काठमाण्डौँ । पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ किमी पूर्वोत्तरतर्फ ३७९४ मीको उचाईमा अवस्थित छ ।

यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा टुप्पोमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छःपरापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन ।

देवीमा चढाईएको बलि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी
माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला नछुने वा पर सरेकी भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।

मन्दिरमा आएर कतिले आफ्नो इच्छाअनुसारको चिज पाएका छन् भने कतिले सिङ्गो जीवन नै पाइसकेका छन् । यस्ता धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गर्न सकेमा आन्तरिक एवं बाह्य तीर्थालु भक्तजनहरूको आगमनमा वृद्धि गरेर जिल्ला कै पहिचान दिलाउन सकिन्छ । त्यसकारण यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सके इलामको पहिलो गन्तव्य स्थल पाथीभरा हुने निश्चित देखिन्छ। इलामको यात्रा यहिबाट सुरुवात हुन्छ ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस