
काठमाडौं । गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ। उनका स्थानमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ। थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए र यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड पनि सम्हालेका छन्।
२३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो। प्रदर्शनकारीहरूले भोलिपल्ट संसद् भवन प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। त्यसपछि सिंहदरबारसहित महत्वपूर्ण संरचनाहरूमा पनि तोडफोड र आगजनी भएको थियो।
जेनजी आन्दोलनको सुरक्षामा प्रहरीबाट भएको गम्भीर चुकको विश्लेषण त्यही दिन गरिएको थियो। गृह मन्त्रालयले यो जिम्मेवारी परिवर्तनमार्फत आगामी सुरक्षा व्यवस्थामा सुधार ल्याउने प्रयास गरेको देखिन्छ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार