२०८२ भाद्र २७ गते शुक्रवार | 2025 September 12th Friday

सरकार प्रमुख को बन्ने राति मिल्यो, संसद विघटनमा आज पुनः छलफल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।

सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुनस् छलफल सुरु हुन लागेको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ । जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपाय (बाधा अड्काउ फुकाउ) बारे विज्ञसँग राय मागेका थिए ।

छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् । राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए । कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताएका छन् । दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेका थिए । त्यसपछि उनीहरूले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए । कार्कीले समेत जिम्मेवारी लिन आफू सकारात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ ।

राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिबारे बिहीबार बेलुकी संविधानविद्हरुसँग समेत छलफल गरेका थिए । त्यसक्रममा उनीहरुले संविधानको फ्रेमभित्र रहेर कसरी अघि बढ्न सकिन्छ भन्ने सुझावहरु दिएका थिए । भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला केपी ओली नेतृत्वको सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जालमा बन्द गराएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतस्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए । सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । मृतकमध्ये नेपाली प्रहरीका समेत छन् ।

मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए । पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो । यसपछि जेनजीसँग वार्ता गर्न नेपाली सेनाले समेत अग्रसरता लिएको थियो । सेनाको सहजिकरणमा जेनजीको मागहरुबारे एकमत बनाउने प्रयास भएको थियो । त्यसपछि राजनीतिक र कानुनी छलफलका लागि राष्ट्रपछि पौडेलले पहल लिएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस