काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकलाई भिजिट भिसा दिन अस्थायी रूपमा रोक लगाएको छ। तर, यो कदम किन चालिएको भन्नेबारे यूएई सरकारले औपचारिक जानकारी गराएको छैन।
सोमबार बिहानदेखि नेपालीहरूको भिसा आवेदन अस्वीकृत हुन थालेको ट्राभल्स एजेन्सीहरूले पुष्टि गरेका छन्। अघिसम्म दुबईमा कडाइ भएपछि धेरैले शारजाह इमिरेट्समार्फत भिसा लिँदै आएका थिए, तर अहिले त्यहाँ पनि भिसा रोकिएको छ।
शारजाहमार्फत एक महिनाको भिसा ५५० दिराम र दुई महिनाको भिसा ६५० दिराममा उपलब्ध हुँदै आएको थियो। अचानक आवेदन अस्वीकृत हुन थालेपछि यसलाई अस्थायी प्रतिबन्धका रूपमा बुझिएको सरोकारवालाको भनाइ छ।
यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षत्रीले दूतावासलाई औपचारिक जानकारी नभएको बताए। तर, स्थानीय स्रोतहरूले नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपाली संख्याका कारण यस्तो कदम उठाइएको हुनसक्ने बताएका छन्।
यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत छन्, जसमा करिब ७० हजारले भिजिट भिसा लिएर गएर वर्किङ भिसामा रूपान्तरण गरेका छन्।

