
काठमाडौं – अधिकांश बालिकामा महिनावारी सुरु हुने उमेर करिब १३ वर्ष मानिन्छ। तर चिकित्सकहरूका अनुसार खानपान, बदलिंदो जीवनशैली र वातावरणीय प्रभावका कारण अहिले ११–१२ वर्षमै पनि महिनावारी सुरु हुने गरेको छ। यस्तो अवस्थामा आमाबाबुले छोरीलाई केही आधारभूत कुरा समयमै सिकाउनु अत्यावश्यक हुन्छ।
प्याड प्रयोगको ज्ञान दिऔं:
महिनावारी कहिले सुरु हुन्छ भन्ने निश्चित हुँदैन। त्यसैले पहिले नै प्याडको प्रयोग गर्ने तरिका सिकाउनुपर्छ। महिनावारी सुरु हुने उमेरमा प्रवेश गरेपछि ब्यागमा प्याड राखिदिनु राम्रो हुन्छ। लामो समय एउटै प्याड लगाउँदा संक्रमणको जोखिम हुने भएकाले दुई-दुई घण्टामा फेर्नुपर्छ भन्ने सन्देश दिनु जरुरी छ।
सफाइ र तयारी:
राम्रो गुणस्तरको प्याड, ट्यापुन वा महिनावारीकपका बारेमा जानकारी दिनुपर्छ। यी सामग्री घरमै राखिदिनु सहयोगी हुन्छ। स्कुल जाने बालिकालाई अर्को अण्डरवेयर पनि साथमा लैजान सिकाउनुपर्छ, किनभने कहिलेकाहीं रगतको स्राव बढी हुन सक्छ।
दुखाइ व्यवस्थापन:
यदि पेट अत्यधिक दुख्छ भने सहेर बस्नु हुँदैन। चिकित्सकको सल्लाहमा पेनकिलर खान सकिन्छ। साथै, तातो झोलिलो खाना खाने र हट वाटर ब्यागले पेटमा सेक्दा पनि आराम मिल्छ।
खुलापन र आत्मविश्वास:
महिनावारीसँगै यौनसँग सम्बन्धित शारीरिक परिवर्तन आउँछन्। छोरीलाई यी परिवर्तनबारे खुला संवाद गर्न सिकाउने, संकोच हटाउने र आत्मविश्वास बढाउने कुरा अत्यावश्यक हुन्छ। यसले उनीहरूलाई सहज र सचेत बनाउँछ।